एकतामा बाँधिए गैरआवासीय नेपाली

काठमाडौँ

मङ्सिर १५ गते,

चार वर्षदेखिको टुटफुट र विवादलाई सम्हाल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) एकताबद्ध भएका छन् । संघमा समानान्तर गतिविधि गर्दै आएका दुई अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरेका हुन् । 

केसी ३० असोज ०८० मा आयोजित ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निवार्चित अध्यक्ष हुन् भने श्रेष्ठ गत वैशाखमा भएको एकता महाधिवेशनबाट निर्वाचित भएका हुन् । दुवै पक्षबिच विवाद हुँदा ९० देशमा फैलिएको संघ कमजोर भएको भन्दै सरकारको अग्रसरतामा दुवै पक्षबिच सहमति भई एकता घोषणा भएको हो ।

संघलाई एकताबद्ध गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सबै मनोमालिन्यलाई मेटाएर संघलाई एकसूत्रीय अभियानमा लैजान सुझाव दिइन् । ‘भाइ फुटे गवार लुटे भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ, फुटेर कतै पुगिन्न,’ उनले भनिन् । सञ्चारमन्त्री जगदीश खरेलले एनआरएनलाई गैरराजनीतिक बन्न आग्रह गरेका छन् ।

दुवै पक्षबिच भएको सहमतिअनुसार आगामी ६ महिनाभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने भएको छ । त्यतिन्जेल संघको अध्यक्ष केसी रहने, तर पदाधिकारी र सदस्य भने श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट हुनेछन् । यस्तो सहमतिपछि श्रेष्ठले संघको नेतृत्व तत्कालै छाडेका छन् ।