उखुको मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ कायम गर्न माग

सर्लाही

मङ्सिर ११ गते,

किसानले यो वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । उखु उत्पादक कृषकले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई भेटेर यस वर्ष २०८२/८३ को क्रसिङ सिजनमा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ निर्धारण गर्न माग गरेका हुन् । सरकार, उद्योगी र किसानको त्रिपक्षीयसहमति अनुसार उखुको मूल्य तोक्नुपर्ने कृषकको माग रहेको छ ।

सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी र कञ्चनपुर जिल्लाका अगुवा उखु कृषकले कृषि मन्त्री परियारलाई भेटेर ज्ञापन पत्रसमेत बुझाएका छन् । उखु किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्वीन्टल ३५ रुपियाँका दरले भुक्तानी पाउन बाँकी रहेकाले उक्त अनुदान रकम मङ्सिर १३ गतेभित्र भुक्तानी गर्न माग गरेका छन् ।

गत वर्ष सरकारले उखुको मूल्य निर्धारण गर्दा किसानलाई चिनी मिलले प्रतिक्वीन्टल ५८५ रुपियाँ र सरकारले अनुदान बापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो तर सरकारले अनुदान रकम कोषा तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउँदा प्रतिक्विन्टल ३५ रुपियाँका दरले मात्रै निकासा गरेको थियो । बाँकी ३५ रुपियाँ भुक्तानी माग्दै किसानले आ–आफ्नो जिल्ला तथा सङ्घीय राजधानी काठमाडौँसमेत पुगेर आन्दोलन गरिसकेका छन् ।