सबैजसो एक्जिट पोलको बिहारमा सत्तारूढ गठबन्धनले जित्ने भविष्यवाणी
काठमाडौँ
कार्तिक २६ गते,
मंगलबार बिहारमा विधासभा–२०२५ को दोस्रो तथा अन्तिम चरणको निर्वाचन सम्पन्न भयो । निर्वाचन सकिएपछि साँझ जारी भएका सबैजसो एक्जिट पोलले अहिलेकै गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा ३.७ करोड मतदाताले एक हजार ३०२ उम्मेदवारको चुनावी भाग्यको फैसला गर्दै छन् । यसपटकको निर्वाचनमा नितिशकुमार सरकारका धेरै मन्त्रीहरू उठेको निर्वाचन क्षेत्र पनि समावेश रहे । दोस्रो चरणको चुनावमा बिहारमा अहिलेसम्मकै सबैभन्दा बढी ६७.१४ प्रतिशत मतदाताले मत जाहेर गरेको रेकर्ड गरिएको छ । नोभेम्बर ६ मा पहिलो चरणको मतदानमा पनि ६५ प्रतिशतभन्दा बढी मतदान भएको थियो । अब मतगणना नोभेम्बर १४ मा हुनेछ ।
नौवटा एक्जिट पोलहरू (म्याट्रिज, जेभिसी, चाणक्य स्ट्रेटेजिज, टिआइएफ रिसर्च, पी–मार्क, पिपुल्स इनसाइट, दैनिक भास्कर, डिभी रिसर्च र पिपुल्स पल्स) सबैले सत्तारुढ एनडिएले जित्ने भविष्यवाणी गरेका छन् । यसपटकको विधानसभा चुनावमा पहिलोपटक भाग लिएको प्रशान्त किशोरको जन–सुराज पार्टीले एउटा पनि सिट जित्न नसक्ने ती एक्जिट पोलको भविष्यवाणी छ । तथापि, एक्जिट पोलहरू सधैँ सही नै हुन्छन् भन्ने छैन । बिहार विधानसभामा २४३ सिट छन् । बहुमतका लागि आधा सिट जित्न आवश्यक छ ।
