संविधान मिचेर मुख्यमन्त्री नियुक्ति प्रकरण : बाहिर विपक्षी दलहरूको प्रदर्शन, भित्र मुख्यमन्त्रीको पदभार
जनकपुर
कार्तिक २६ गते,
विपक्षी सात दलका सांसद तथा नेता–कार्यकर्ताको विरोधका बाबजुद मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लालबाबु कवारीले मुख्यमन्त्री यादवलाई पदभार ग्रहण गराएका हुन् ।
यादवले जनकपुरधामस्थित मधेश भवनभित्र रहेको कभर्डहलमा अपराह्न ४:३० बजे पदभार ग्रहण गरिरहँदा बाहिर प्रदर्शन र झडप भइरहेको थियो । गत २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी भएकाले कार्यालय कवर्डहलमा सारिएको छ । मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक प्रक्रियाबाट भएको भन्दै विपक्षी दलहरू सोमबार बिहानैदेखि मधेश प्रदेश भवनअगाडि धर्ना तथा प्रदर्शनमा रहेकाले पदभार ग्रहण गर्न सकेका थिएनन् । तर, प्रदर्शन भइरहेकै वेला सुरक्षाकर्मीले स्कर्टिङ गरेर यादवलाई मंगलबार अपराह्न ४:३० बजे मधेश भवनभित्र प्रवेश गराएका थिए ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई स्कर्टिङ गरेर मधेश भवनभित्र लैजाने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गर्दा लोसपाका नेता रामविनोद चौधरी, अजय पण्डित, नवीनकुमार झा, अजयकुमार राउत, धर्मेन्द्रकुमार यादवलगायत घाइते भएका छन् । पत्रकार सुरेन्द्र यादव पनि घाइते भएका छन् । टाउकोमा चोट लागेका पत्रकार यादवसहित घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उपचारका नाममा जनकपुरधामबाट काठमाडौं हिँडेकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको नजिर बेवास्ता गर्दै एमाले नेता यादवलाई सोमबार बिहान झिसमिसेमै होटेलमा शपथ खुवाएकी थिइन् । कुनै औपचारिक आह्वानविनै प्रदेश प्रमुखले ‘फिक्सिङ’मा मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेस, माओवादी, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति विरोधमा छन् ।
