लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गर्ने यातायात व्यवस्था विभागको तयारी

काठमाडौँ 

असोज ३० गते,

जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ । हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक राजीव पोखरेलले आवश्यक मेसिन उपकरणहरुको प्रबन्ध मिलाइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने बताए । उनले नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने बताए । छपाइ कार्ड र प्रिन्टर नयाँ खरिद गर्नुपर्ने भएकाले केही नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने उनको भनाइ छ । ‘प्रिन्टर व्यवस्थापन लगायतका सबै प्रक्रिया पूरा गर्न कम्तिमा तीन महिना लाग्छ,’ उनले भने ।

विभागका अनुसार आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्ट्स तथा रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएका छन् ।