सरकार ! यसरी गरौं भ्रष्टाचार अन्त्य

माध्यमिक, उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत जेन–जीका युवाहरूको मुख्य दुई माग थियो– सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार नियन्त्रण गर्ने । देशमा व्याप्त भ्रष्टाचार विरुद्धको आक्रोश विस्फोटन हुने अवस्थामा थियो, जेन–जी मात्र होइन सबै पुस्ता नै चरम भ्रष्टाचारबाट आक्रोशित थिए र राज्य सञ्चालकप्रति वितृष्णा व्यापक थियो । 

यस्तैमा जेन–जी र युवा पुस्ता मात्र होइन सबै पुस्तामाझ प्रिय फेसबुक लगायतका २६ वटा सामाजिक सञ्जालमाथि सरकारले गत भदौ १९ गते रातिदेखि प्रतिबन्ध लगायो । स्मरणीय छ, सामाजिक सञ्जालको उपयोग गरेर कतिपयले आय आर्जनसमेत गर्छन् । यो अवस्थाले गर्दा जनआक्रोश विस्फोटन हुने सङ्घारमा पुगेको थियो । यस्तोमा हजारौं जेन–जी भदौ २३ गते नेपालको झण्डा बोकेर आन्दोलनमा उत्रिए ।

जसबाट आक्रोशित ओली सरकारले केही घण्टाको अन्तरालमा नै १९ जना युवाको नरसंहार गरेर आफ्नो अमानवीय अनुहार प्रदर्शन गर्‍यो । झन्डै एक घण्टाभन्दा कममा एक युवा मारिए, यति द्रुत गतिमा निर्मम हत्या यस अघिका कुनै पनि जनआन्दोलनमा भएको थिएन । यसले गर्दा सबै नेपाली आक्रोशित भएको मौका छोपेर आततायीहरूले भाद्र २४ गते तोडफोड, आगजगनी, लुटपाट, इत्यादि गर्ने क्रममा मारिनेको संख्या बढेर लगभग ७३ पुग्यो ।