राजनीतिमा शासकहरु कुर र तानाशाही बन्दा,एतिहासिक सिंहदरबार मेटियो

मिति र समय : २९ भदौ, २०८२ (आइतबार, बिहान १० बजे ) आइतबार बिहान सिंहदरबार पुग्दा आगलागीका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय खण्डहरमा परिणत भइसकेको थियो। प्रधानमन्त्रीको कार्यालयमा आगोको भुंग्रो अझै निभेको थिएन। सिंहदरबारको दक्षिणी गेटमै दुई सवारीसाधन जलेर खरानी भएका थिए। गेट पास वितरण गर्ने कोठाहरूको अवस्था उस्तै थिए। सुरक्षाकर्मीले पंक्तिकारको रेडकार्ड हेरे र दुःखी हुँदै भने, ‘सर, अब पहिले जस्तो सिंहदरबारको अवस्था रहेन। 

यहाँ सडकमा ट्राफिकका केही संरचना छैन। हामीलाई सहयोग गर्नुस्।’ उनले यसो भन्नुको पछाडिको कारण थियो– सिंहदरबारको दक्षिणी गेटका ट्राफिक बारहरू, जसलाई आपराधिक समूहले जलाएका थिए। यसले गर्दा पश्चिम र उत्तरबाट हुँइक्किएर आउने गाडीहरू सुुरक्षाकर्मीको नजिकै पुगेर ठोकौला झैं गर्थे। त्यहाँ खटिएका प्रहरी बेला–बेलामा तर्सिरहन्थे। हालसम्म यस आन्दोलनमा कम्तीमा ७३ जनाको मृत्यु भइसकेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार देशैभरि आन्दोलनमा परी ४ सय ७३ प्रहरी कर्मचारी र ७ सय ७४ आन्दोलनकारी घाइते भएका छन्। घाइतेमध्ये धेरै उपचार गराएर फर्किसकेका छन्।

झन्डा ओढेरै देश जलाए
बाहिरको अवस्थाबाटै सिंहदरबारभित्रको अवस्था प्रस्ट हुन्थ्यो। गेटदेखि भित्रसम्मका सडकको दायाँबायाँ लस्करै रहेका मन्त्रालयका भवन जलेका थिए। त्यसको अघिल्तिर पार्किङ गरेर राखिएका सवारीसाधन आगोमा डडेर हेर्दै डर लाग्दो देखिन्थे। यसअघि मन्त्रालय भवनहरूका भित्ताहरू सेताम्य देखिन्थे। हेर्दै कस्तो गर्व लाग्थ्यो। तर, अहिले सिंहदरबारको अवस्था काहालीलाग्दो छ। आफूलाई नेपाली भन्नेहरूले कसरी जलाए होलान्, आफ्नै देश ? 
त्यहाँ पुग्ने हर कोहीको मनमा यही प्रश्न उठ्छ। मंगलबार झन्डा ओढेरै अपराधीहरूले जलाए सिंहदरबार।

जलेर खरानी भएको सिंहदरबारको भवनको माथिल्लो भागमा चन्द्र—सूर्य अंकित झन्डा अविरल फहराइरहेको थियो। तर, पहिलेजस्तो रौनक भने थिएन। सेताम्य भवनको प्रवेशद्वारमा राखिएको त्यो झन्डाको चमकै बेग्लै हुन्थ्यो। भवनका अघिल्लतिरका बगैंचाका फूलहरू पनि मुर्झाएका थिए, देश जलाउने पापीहरूले दिएको असह्य पीडामा डुबे झैं देखिन्थे। आगोको रापले रूखका पातहरू जलेर सुकेका थिए। मन्त्रालयभित्र कर्मचारीहरू आँट गर्दै थिए, खरानी सोहोर्न। देशलाई फेरि उठाउन। नियमित कार्यालय सञ्चालन गर्न।

पेट्रोल बम हानेर जलाइलो सिंहदरबार
मंगलबार ज्यान जोगाएर भागेका कर्मचारीहरू आइतबार सिंहदरबार फर्किएका थिए। रेडियो नेपालको उत्तरपट्टि एउटा विशाल महल छ। जहाँ ठूलो भीड थियो, खरानी देखेर आँखा मिच्नेहरूको। यो महलको आकार नै भव्य। वास्तुकला तथा शृंगारमा धनी छ। यही हबेली (चारैतिरबाट बनेका भवन)बाट प्रधानमन्त्रीले देशको शासन सत्ता चलाउँथे, मुख्यसचिवले प्रशासन हाँक्थे। हेर्दै लोभ लाग्ने त्यो भवन जलेरै खरानी भयो। आगोको भुंग्रो अझै निभेको छैन। मंगलबार (भदौ २४ गते ) बेहोसी अपराधी समूहले ‘पेट्रोल बम’मा सलाई कोरेर भवनमा प्रहार गर्‍यो। त्यही एउटा झिल्कोले शताब्दी पुुरानो इतिहास बोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर ध्वस्त भयो। 

जलेको त्यो दृश्यको अघिलतिर कोही सेल्फी लिँदै थिए त कोही फोटो खिचाउँदै थिए। उनीहरू भन्दै थिए, ‘भोलिका लागि एउटा ऐतिहासिक क्षणको तस्बिर कैद गरौं।’ यी जलेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बनाएर तिनले जनमानसलाई भड्काएका थिए। ‘तिनीहरू अब प्रहरीको सर्वाधिक खोजीको सूचीमा हुनुपर्छ, कडा कारबाही गरिनै पर्छ’, भीडबाट अवाज सुनिन्थ्यो। 

सिंहदरबारमा ढालियो सिंह, जलाइयो परेवाको गुँड
जलेको भवनअघि नेपाली सेनाका दुई जवान बन्दुक बोकेर पहरा दिइरहेका थिए। फोटो खिच्नै लाग्दा उनीहरूले हामीलाई रोके। भने, ‘माथिबाट भवनका भग्नावशेष झरिरहेका छन्। सिंहदरबारको हालत बेहाल छ। भित्रको आगोको अझै सेलाएको छैन।’ नजिकैको भीडमा सेनाको भूमिकाप्रति अनेकन प्रश्न गर्नेहरू पनि थिए। उनीहरू आपसमा गफिँदै थिए, ‘यत्रो महल जल्दा सेना के हेरेर बसेको थियो। अब दिने बन्दुकको पहराले के गर्छ ?’
जलेका भवनमा परेवाहरू भौंतारिरहेका थिए, गुँड खोज्दै। चमेराहरू पनि पीडाले छटपटिरहेका देखिन्थे।

‘प्रधानमन्त्री कार्यालयभित्र चराचुरुंगीको ठूलो गुँड थियो। चराको चिरबिर सिंहदरबारलाई मन्त्रमुग्ध बनाउने संगीत थियो’, सेनाका जवानले भने, ‘अब त उनीहरूका गुँडहरू छैन। जलेर भवनै ध्वस्त भइसक्यो।’ देशमा नयाँ सरकार आएर होला। जलेको प्रधानमन्त्रीको कार्यालयको उत्तरपट्टिको भवनतिर प्रहरी—प्रशासन र कर्मचारीको बाक्लै चहलपहल थियो। जहाँ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै थिइन्।

गृह मन्त्रालयका लागि बनाएको नयाँ भवनबाट नयाँ सरकारलाई ६ महिनाभित्र चुनाव गराउने म्यान्डेड लिएर राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति अन्तिरिम सरकारको प्रधानमन्त्री बनाएर उनलाई पठाएका थिए। आइतबार प्रधानमन्त्रीले कार्यभार समाल्दै गर्दा सिंहदरबारका शान्तिका प्रतीक ती परेवाले पनि न्यायको आशा गरिरहेका थिए।सिंहदरबार जलेर खरानी बनिसक्दा अलि पश्चिमतिर रहेका सेना ब्यारेकहरू दुरुस्तै थिए। तर, नजिकै रहेको बगैंचाका दृश्यहरू भने बेग्लै देखिन्थ्ये। सिंहका प्रतीकात्मक मूर्तिहरू यत्रतत्र ढलेका थिए। कुकुरहरू भोकाएका थिए। सिंहदरबारभित्रका क्यान्टिनहरू ध्वस्त भएपछि तिनले कैयौं दिनदेखि खान पाएका छैनन्। 

नेपाली हामी रहौंला कहाँ…

सुरक्षाको कारण देखाउँदै फोटो खिच्न सेनाका जवानले प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गर्न दिएनन्। ५ सय बढी कोठा रहेको उक्त कार्यालयको अवस्था कस्तो छ भन्ने जिज्ञासा बढ्दै गयो। भवनको उत्तरपट्टि अघि बढ्दै जाँदा बाटोमा जलेका कुर्सी, गाडी, निसाना छाप भएका कागज पत्रहरू यत्रतत्र देखिन्थे। फालेका किताबसँगै नेपालको झन्डा पनि असरल्ल थिए। त्यही झन्डाको ओतमा तीन करोड नेपाली छन्। ती झन्डाले पनि एउटै प्रश्न गरिरहेका थिए : 
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।

भवनहरू जलेर भ्वाङ पर्‍यो

प्रधानमन्त्री कार्यालय भएकाले कर्मचारीहरूले संवेदनशील भएर काजगात खोज्दै थिए। कम्प्युटर, कुर्सी—टेबल, शौचालय, पुस्ताकालय सबका सब जलेका थिए। आगजानी र तोडफोड नभएको कुनै ठाउँ थिएन। प्रधानमन्त्रीको कार्यकक्ष अघिलतिर देवाल घडी लडिरहेको थियो। उसले अन्तिमपटक ५ बजेर १० मिनेट गएको बेला आफू तोडफोडमा परेको भान गराइरहेको थियो। नजिकैको कोठाको भित्तामा राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अझै झुन्डिरहेका देखियो। यो तस्बिरनजिकै नेपालको चुच्चे नक्सा थियो। त्यो जलेर खरानी भएको भवनमा बाटो पहिल्याउन मुस्किल हुन्थ्यो। भित्रबाट पोकाका पोका फाइलहरू बाहिर ओसार्न कर्मचारी र कामदार खटिएका थिए। प्रधानमन्त्री कार्यालयकी कार्यालय सहयोगी सबिला क्षेत्री निकै व्यस्त थिइन्। उनले भनिन्, ‘केही फाइलहरू र फर्निचरहरू बाँकी छन्। आगोको मुस्लोले कालो भएर बाँकी बसेको रहेछ। ती सबै संकलन गरेर प्रधानमन्त्रीको नयाँ कार्यालयमा लैजाँदै छौं।’

मेरो घडीमा १२:५३ बजेको थियो। एउटा कोठामा जल्न बाँकी रहेको सोफामा दुई जना कुरा गर्दै थिए। उनीहरू प्रधानमन्त्री कार्यालयका कर्मचारी रहेछन्। भागेर ज्यान जोगाएको पीडा उनीहरूले सुनाए। तर, परिचय भने खुलाएनन्। उनीहरूमध्ये एकले भने, ‘हामी स्तब्ध छौं। जल्न बाँकी के छैन भनेर नसोध्नुस्, तोडफोड नभएको कुनै ठाउँ छैन। आगजनीले ऐतिहासिक भवन ध्वस्तै बनायो।’ 

जलस्रोतसँग आगो निभाउने जल भएन

प्रधानमन्त्री कार्यालयको पूर्वपट्टि टाँसिएर छ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय। यहाँका पार्किङ गरिएका गाडीहरूको दुर्दशा पनि उस्तै थियो। अब ती गाडीहरूले कहिले मान्छे बोकेर हिँड्दैनन्। एक कर्मचारीले भने, ‘हाम्रो मन्त्रालयको नाम छ जलस्रोत। तर, आगलागी हुँदा थोपो पानी बोकेर उत्रिने अवस्था भएन।’ यहाँ पनि भवनको तल्लो भागमा क्षति भएको छ। प्रधानमन्त्रीको कार्यालयपछि सबैभन्दा बढी क्षति गृह मन्त्रालयमा देखिएको छ।

भदौ २३ गते देशैभरिमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु र ४ सय बढी घाइते भएका थिए। त्यसको भोलिपल्ट भदौ २४ गते जेन–जीसँग उनका अभिभावकहरू पनि सडकमा आएका थिए। त्यसको आडमा गृह मन्त्रालयको भवन ठूलो आगलागी भएको रहेछ। देशभरिको सुरक्षाको नीति र निर्देशन दिने गृह प्रशासनको दूरगामी महत्वमा दस्ताबेजहरू जलेका छन्। कर्मचारीबाहेक अन्यलाई अहिले मन्त्रालयमा जान दिइएको छैन। नागरिकता, सुरक्षा, आन्तरिक नीति निर्देशनको सबै कागजहरू जलेका हुन्। 

५२ वर्ष पहिलेको सिंहदरबारको त्यो आगलागी
आजभन्दा ५२ वर्ष पहिले पनि सिंहदरबारमा आगलागी भएको थियो। २०३० साल असार २५ मा पनि त्यहाँ ठूलो आगलागी भएको थियो। त्यति बेला पछाडिपट्टिको धेरैजसो भाग नष्ट भएको थियो। थुप्रै सरकारी कार्यालयहरू अन्त सारिए। मानवीय क्षति भएन तर, भौतिक सम्पत्ति जलेर नष्ट भएको थियो। परराष्ट्र मन्त्रालयसँग सम्बन्धित कागजपत्र र दस्ताबेज जलेको थियो। ‘विद्युत् सट’ भएर आगलागी भएको भनिएको थियो। सिंहदरबार पुनर्निर्माण गरेर कार्यालय सारिएको थियो।

त्यो बेला ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए। अहिले भने जेन–जीको आडमा सिंहदरबार, संसद् भावन, सर्वोच्च अदालतलगायत स्थानमा आपराधिक जत्थाले अगो लगाएर ध्वस्त बनाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नै ढल्यो।

सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासको रूपमा सिंहदरबार बनाउन लगाएका थिए। यहाँ १ हजार ७ वटा कोठा छन्। जुन त्यस बेलाको एसियाभरिको सबैभन्दा ठूलो दरबारको रूपमा परिचित थियो। यो संरचना निर्माणमा त्यति बेलाको २५ लाख खर्च भएको थियो। २००७ सालमा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो।