अनमोलको आँट : जसले गौरवलाई भिडबाट जोगाए
विराटनगर । भदौ २४, जेनजी आन्दोलनको मौका छोप्दै अराजक समूहले देशभरका सरकारी, निजी र ऐतिहासिक संरचनालाई निशाना बनाए । आगो झोसे, तोडफोड गरे, लुटपाट मच्चाए । यही बीचमा जोगिन सफल भयो विराटनगरको गौरव वीरेन्द्र सभागृह । र, भिडलाई सम्झाउने साहस गरे अनमोल सुब्बाले । अहिले उनको चौतर्फी तारिफ भइरहेको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा पनि यसको बाछिटा पर्यो । प्रदेशसभा, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेको थियो । धुवाको मुस्लोले ढाकिएको थियो विराटनगरको आकाश ।
त्रासमै थियो विराटनगर । दिउँसै खुलेआम लुटपाट हुँदा र जेनजीको आवरणमा आपराधिक गिरोहले विध्वंश मच्चाउँदा सुरक्षामा खटिएका प्रहरी ज्यान जोगाएर भागिसकेका थिए ।
