काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन विजयी

ललितपुर । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहेका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गरेका हुन् । 

प्रतिनिधि सभामा काँग्रेस संसदीय दलका सचेत निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् । 

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले चार हजार ४६०, इन्जिनियर मोहन आचार्यले चार हजार ३७०, जितनारायण श्रेष्ठले चार हजार ३४७ र प्रबल थापाले चार हजार १७५ मत प्राप्त गरेका छन् ।