सुदूरपश्चिममा नयाँ सरकार गठनको पहल गर्ने नेकपाको निर्णय, मुख्यमन्त्रीलाई बाटो खुला गर्न आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल अघि बढाउने निर्णय गरेको छ।
प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग आवश्यक छलफल र संवाद गर्ने निर्णय गरेको हो।
बैठकले नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ। नेकपाले वर्तमान सरकारले प्रदेशको दीर्घकालीन प्रभाव पार्ने खालका निर्णय नगर्न पनि आग्रह गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रदेश सभामा पेस गरेपछि सत्ता साझेदार दलहरूबीच विवाद चर्किएको थियो। बजेटको विषयलाई लिएर उत्पन्न असहमतिकाबीच मुख्यमन्त्री शाहले बुधबार एमालेका मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएका थिए।
मन्त्रीहरू हटाइएपछि एमालेले सोही दिन प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो।
