काठमाडौँमा बर्डफ्लु बढ्दै: एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँ  । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।

विसं २०८२ चैत ४ गते मोरङमा पहिलो पटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ । त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए ।

रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालनसमेत गरेको छ ।

विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा. दाहालले जानकारी दिए।