टेम्पो भिरबाट खसालेको घटना: वन कर्मचारी धरौटीमा रिहा, पीडित धनदेवीलाई ५ लाख क्षतिपूर्ति

काठमाडौँ । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र टेम्पो धनी पक्ष (घनश्याम धामी र उनकी पत्नी धनदेवी धामी)बीच सहमति जुटेपछि धामी दम्पतीले सो रकम प्राप्त गरेका हुन् ।

धनदेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सव डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई ७–७ हजार धरौटीमा छाडेको हो । धामी टेम्पाको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन् ।

वनका कर्मचारीले उनलाई क्षतिपूर्ति बापत भन्दै पाँच लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय माला खेतीमा उनीहरूबीचको विवाद समेत टुंग्गिएको छ । टेम्पो भिरमा फालिएको घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको थियो ।