मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएपछि हर्कलाई संसदीय नियम पालना गर्न मनिष झाको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई संसद्को प्रक्रिया र नियमअनुसार अघि बढ्न आग्रह गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले बैठकमा विरोध गरेपछि सांसद झाले त्यसप्रति प्रतिक्रिया दिएका हुन्।
सांसद झाले प्रतिनिधि सभा नियमावलीमा प्रश्नोत्तरसम्बन्धी स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रीले दिएको जवाफ चित्त नबुझेको अवस्थामा पनि संसदीय प्रक्रियाअनुसार विषय उठाउनुपर्ने बताए।
उनका अनुसार नियमावलीले प्रश्न गर्ने सदस्य, जवाफ दिने मन्त्री र सभामुखको भूमिकासम्बन्धी व्यवस्था गरेको छ। उनले नियमअनुसार प्रक्रिया अघि बढाउनुपर्ने भन्दै पटक-पटक विवाद सिर्जना गर्नु उपयुक्त नहुने धारणा राखे।
सांसद झाले नियम र कानुनी व्यवस्थालाई आधार बनाएर संसद् सञ्चालन हुने भएकाले सम्बन्धित प्रावधान अध्ययन गर्न पनि आग्रह गरे।
