सभामुख अर्यालसँग बंगलादेशका राजदूत रहमानको भेट
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उनको कार्यकक्षमा आज शिष्टाचार भेट गरेका छन् ।
सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताए।
सभामुख अर्यालले बंगलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे ।
नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको प्रसङग उल्लेख गर्दै उनले दुवै देशका सरकारबीचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।
सभामुख अर्यालले बंगलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालको विकास यात्रामा बङ्गलादेशका असल अभ्यास उपयोगी हुन सक्ने धारणा राखे। उनले भने, “नेपाल र बंगलादेशबीचको सहकार्यले दुवै देशका जनताको सुख, समृद्धि र कल्याणमा महत्त्वपूर्ण योगदान पुग्नेछ।”
