फिलिपिन्सको शक्तिशाली भूकम्प : ज्यान गुमाउने ४५, १७ जना अझै सम्पर्कविहीन
काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओ आसपास केन्द्रित शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनामा ४ सय ८७ जना घाइते भएका छन् भने १७ जनाको अवस्था अझै अज्ञात रहेको छ।
परिषद्का अनुसार भूकम्पको असरबाट ३३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्, जसबाट करिब एक लाख ५० हजार नागरिक प्रत्यक्ष रूपमा असरमा परेका छन्। स्वास्थ्य संस्था, शैक्षिक भवन तथा पुलसहित २ सय ३८ वटा पूर्वाधारमा विभिन्न स्तरको क्षति पुगेको जनाइएको छ।
सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पपछि मिन्डानाओका अधिकांश भूभागसँगै मध्य फिलिपिन्सका केही क्षेत्रमा समेत तीव्र कम्पन महसुस गरिएको थियो। मुख्य भूकम्पपछिका दिनहरूमा १ हजार ७ सयभन्दा बढी परकम्प रेकर्ड भइसकेका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
