सिरहामा तापक्रम वृद्धि : आवश्यकबाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

काठमाडौँ । सिरहामा पछिल्ला दिनहरूमा तापक्रम वृद्धि भएसँगै तातो हावाको प्रभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि आवश्यकबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगी व्यक्तिहरू बढी जोखिममा पर्न सक्ने उल्लेख गर्दै विशेष सावधानी अपनाउन भनिएको छ। अत्यावश्यक कामले बाहिर जानुपर्ने अवस्था आएमा छाता प्रयोग गर्न, टोपी लगाउन वा टाउको कपडाले ढाक्न सुझाव दिइएको छ।

शरीरमा पानीको मात्रा सन्तुलित राख्न प्रशस्त सफा पानी तथा झोलयुक्त पेय पदार्थ जस्तै जुस, लस्सी वा सर्बत सेवन गर्न प्रशासनले आग्रह गरेको छ। त्यस्तै हल्का, पातलो र सुती कपडा लगाउन तथा लामो समयसम्म घाममा बस्ने वा श्रम गर्ने काम कम गर्न सुझाव दिइएको छ।

प्रशासनले सकेसम्म चिसो र हावा चल्ने स्थानमा बस्न तथा घरमा रहेका बालबालिका, वृद्धवृद्धा र बिरामी व्यक्तिको विशेष हेरचाह गर्न पनि अनुरोध गरेको छ।

तातो हावाको असरबाट टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने, कमजोरी महसुस हुने वा बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।