विमानस्थल पार्किङ शुल्क पुनरावलोकन गर्न समिति गठन, संशोधन प्रक्रिया अघि बढ्ने
काठमाडौँ । देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक रहेको गुनासोपछि सरकारले दर समायोजनको प्रक्रिया अघि बढाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्किङ शुल्क पुनरावलोकन गरी आवश्यक संशोधन गर्न समिति गठन गरेको जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोदप्रसाद न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।
मन्त्रालयका अनुसार उक्त समितिलाई तीन दिनभित्र पार्किङ शुल्क संरचना अध्ययन गरी परिमार्जनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ।
विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवासम्बद्ध कर्मचारीहरूले पार्किङ शुल्क अत्यधिक लिइएको भन्दै असन्तुष्टि जनाएपछि दर समायोजनको आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ।
