गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा उच्चस्तरीय छानबिनको आवश्यकता औँल्याएको छ।

पार्टीले जारी गरेको धारणा अनुसार उक्त मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गृहमन्त्रीको संलग्नता देखिएको विषय सार्वजनिक भएपछि पारदर्शिता र राजनीतिक नैतिकतासम्बन्धी प्रश्न उठेको उल्लेख गरिएको छ।

काँग्रेसका प्रवक्ता देवराज चालिसेले सम्बन्धित पदमा रहेका व्यक्तिमाथि अनुसन्धान चलिरहँदा प्रक्रिया प्रभावित हुन सक्ने आशंका रहने भएकाले छानबिन स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढाउन उपयुक्त वातावरण सुनिश्चित गर्नुपर्ने बताएका छन्।

पार्टीले गृहमन्त्रीसँग जोडिएका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन तत्काल सुरु गर्न सरकारसमक्ष आग्रह गरेको छ। साथै अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभाव, ढिलासुस्ती वा विषयलाई दबाउने प्रयास भए त्यसले सुशासन र जनविश्वासमा नकारात्मक असर पार्ने चेतावनी पनि दिएको छ।

काँग्रेसले यसअघि नै केन्द्रीय कार्यसमितिको बैठकबाट मन्त्रीहरूको सम्पत्ति स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको उल्लेख गर्दै सोही निर्णयअनुसार वर्तमान विषयमा पनि स्पष्ट र विश्वसनीय छानबिन आवश्यक रहेको जनाएको छ।