दुई अध्यागमन अधिकृतको जिम्मेवारी खोसियो
काठमाडौँ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा अनधिकृत टिप्पणी गरिएको प्रकरणमा अध्यागमन विभागले दुई अधिकृतमाथि कारबाही गरेको छ।
विभागका अनुसार प्रचलित कानुन तथा आन्तरिक निर्णय विपरीत राहदानीमा ‘रोजगारी पूर्ण रूपमा निषेध’ भन्ने आशयको टिप्पणी अंकित गरिएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ती अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो। सम्बन्धित व्यक्तिहरूको पहिचान सार्वजनिक गरिएको छैन।
उक्त विषय बाहिर आएपछि विभागले प्रारम्भिक तथ्य संकलनका लागि वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकलाई शर्तसहित विदेश प्रस्थान अनुमति दिने कुनै नीतिगत व्यवस्था नरहेको स्पष्ट पारिएको छ। नीति विपरीत व्यक्तिगत तहमा गरिएको यस्तो कार्यलाई गम्भीर रूपमा लिँदै थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

