फेवाताल चार किल्लाभित्रको जग्गा स्थिति अध्ययनका लागि पाँच सदस्यीय छानबिन समिति गठन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फेवातालको चार किल्लाभित्र रहेको जग्गाको वर्तमान अवस्था पहिचान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिव प्रसाद रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिले ताल क्षेत्रभित्र पर्ने सबै जग्गाको स्थिति, दर्ता र प्रयोग अवस्था अध्ययन गर्ने तथा त्यहाँ निर्माण भएका संरचनासमेतको विवरण संकलन गर्ने जनाइएको छ।
मन्त्रालयका अनुसार समिति फेवाताल क्षेत्रमा पर्ने निजी र सरकारी जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरणसमेत गर्नेछ। यसबाट ताल संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समितिलाई अध्ययनपछि प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गर्न ७ दिनको समय सीमा दिइएको छ।
