प्रतिनिधि सभा पुन:स्थापनाको मागसहित काठमाडौँमा युवाहरूको विरोध प्रदर्शन
काठमाडौँ
माघ १३ गते,
प्रतिनिधि सभा विघटनप्रति आपत्ति जनाउँदै संसद् पुन:क्रियाशील बनाउनुपर्ने मागसहित काठमाडौँमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
नागरिक युवा समाजसँग आबद्ध युवाहरूले मंगलबार माइतीघर मण्डलामा भेला भई असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनलाई वैधानिक प्रक्रियाबाट उल्ट्याइनुपर्ने माग अघि सारेका हुन्। उनीहरूले संसद् पुन:स्थापना लोकतान्त्रिक शासन व्यवस्थाको अनिवार्य आधार भएको भन्दै त्यसको पक्षमा सार्वजनिक दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरेको जनाएका छन्।
सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको सन्दर्भमा प्रदर्शनकारी युवाहरूले संविधानको संरक्षण हुने गरी निर्णय आउने विश्वास व्यक्त गरेका छन्। उनीहरूको मुख्य माग अदालतबाट शीघ्र फैसला हुनुका साथै संवैधानिक मर्मअनुसार संसद् पुन:स्थापना गरिनु रहेको बताइएको छ। विधिको शासन कायम गर्न र राज्य सञ्चालनलाई संवैधानिक ढाँचामा फर्काउन प्रतिनिधिसभा पुन:क्रियाशील हुनुपर्ने उनीहरूको धारणा छ।
प्रदर्शनका क्रममा सहभागीहरूले संविधान र संसद्को संरक्षणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए।
