कमला पुलको डिजाइन नै गलत भएको भन्दै सडक विभागका कर्मचारीहरु छानबिनमा तानिए
जनकपुर
मंसिर २६ गते,
धनुषा–सिरहा जोड्ने कमला नदीको निर्माणाधीन पुल गलत डिजाइनकै कारण भासिएको खुलेपछि सडक विभागका उच्च तहका अधिकारीहरू छानबिनको दायरामा तानिने भएका छन्। महालेखा परीक्षकको प्रतिवेदन–२०७९ ले पुलको डिजाइनमा ‘गम्भीर प्राविधिक त्रुटि’ देखिएको उल्लेख गर्दै प्रारम्भिक चरणमै कमजोरीका कारण संरचना नै असफल भएको निष्कर्ष निकालेको हो।
प्रतिवेदन अनुसार पुलको पाइल (पाया) को लम्बाइ आवश्यक मानकभन्दा अत्यन्त कम राखिएको, माटो परीक्षणका लागि खन्नुपर्ने बोरहोलको संख्या र गहिराइ पर्याप्त नभएको, र निर्माणका क्रममा अनिवार्य मानिने ‘पाइल लोड टेस्ट’ नै नगरिएको तथ्य पुष्टि भएको छ। यी तीन प्रमुख प्राविधिक त्रुटिका कारण पुल अन्ततः भासिन पुगेको प्रतिवेदनले स्पष्ट गरेको छ।
उक्त पुलको प्रारम्भिक डिजाइन तत्कालीन पुल महाशाखाका सीडीई तथा हाल सडक विभागका महानिर्देशक डा. बिजय जैशीले तयार पारेका थिए भन्ने उल्लेख प्रतिवेदनमा छ। यस्तै, विभागका उपमहानिर्देशक प्रभातकुमार झा समेत यो प्रक्रियामा संलग्न रहेकाले दुवै अधिकारीसहित सम्बन्धित संरचनात्मक, प्राविधिक तथा प्रशासनिक जिम्मेवारीमा रहेका अन्य पदाधिकारी छानबिनको दायरामा पर्ने संकेत प्रतिवेदनले दिएको छ।
कमला नदीको यो पुल पूर्व–पश्चिम हुलाकी राजमार्गको महत्वपूर्ण खण्ड मानिन्छ। पुल भासिएपछि धनुषा र सिरहाका बासिन्दा तथा यातायात व्यवसायीहरू आवतजावतमा परेको अवरोधका कारण निकै समस्यामा परेका छन्। लुुकतन्त्रमा आवश्यक सेवामा अवरोध आएको भन्दै स्थानीयहरू लगातार दबाब दिँदै आएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागले प्रतिवेदनका निष्कर्ष अनुसार थप अनुसन्धान अघि बढाउने र आवश्यक अनुशासनात्मक कारबाहीमा जाने तयारी थालेको बुझिएको छ। अधिकारीहरूको भूमिकामा देखिएको लापरबाहीका विषयमा छानबिन पारदर्शी रूपमा अघि बढाई दोषी पुष्टि भए कडा कारबाही तथा पुनर्निर्माण कार्य तिब्रतर बनोस् भन्ने स्थानीयको अपेक्षा छ।
