बलात्कार आरोपी जनमत पार्टीका निलम्बित सचिव साह प्रहरी हिरासतमा
काठमाडौँ
मंसिर २३ गते,
बलात्कारको आरोप लागेको जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव बीपी साहलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषाले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको समय दिएको धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए । मंगलबार साह आफैं जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थित भएका थिए ।
जनकपुरधामकी २७ वर्षीया एक महिलाले साहले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि प्रहरी प्रशासनले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सामाजिक सञ्जालमा सक्रिय देखिएका उनी आफैं प्रहरी कार्यालय पुगेका हुन् । उनलाई पक्राउ गर्न प्रहरी पनि नजिकै पुगेको थियो । पक्राउ पर्ने डरले उनी आफैँ आएको एसपी कुँवरले बताए ।
साहमाथी जाहेरी दर्ता भएपछि जनमत पार्टीले केन्द्रीय सचिवबाट निलम्बन गरेको थियो ।
