नेकपा र जसपाबिच एकता वार्ता
काठमाडौँ
कार्तिक ३० गते,
नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच पार्टी एकताको विषयमा छलफल अघि बढेको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दुई पार्टीका नेताहरूबिच एकता वार्ता भएको हो ।
नेकपाबाट देव गुरुङ, प्रमेश हमाल र वर्षमान पुन तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायका नेताहरूले एकताकेन्द्रित छलफल गरेका हुन् । नेकपासँग एकताको विषयमा जसपाले पहिलोपटक औपचारिक छलफल गरेको हो । एकता प्रक्रियामा जोडिन जसपालाई आग्रह गरिएको हमालले बताए । एकताबद्ध भएर अगाडि बढ्न जसपा सकारात्मक भएको उनको भनाइ छ । ‘वाम–समाजवादी शक्ति एकत्रित गर्ने अभियानअन्तर्गत जसपासँग छलफल भयो । छलफल सकारात्मक भएको छ । थप छलफल हुन्छ,’ उनले भने ।
जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले वार्ता सकारात्मक भएको बताए । ‘वैचारिक, राजनीतिक र संगठनात्मक विषयमा छलफल भयो । नेकपा गठन भएपछि पहिलोपटक औपचारिक वार्ता सुरु भयो । वार्ता सकारात्मक छ,’ श्रेष्ठले भने । उनले पार्टीको बैठकबाट थप निर्णयमा पुग्ने बताए । पार्टीको बैठक नबोलाए पनि छिट्टै बस्ने उनले जानकारी दिए ।
श्रेष्ठले नीति, कार्यक्रम र सिद्धान्तका आधारमा एकता र ध्रुवीकरण हुने बताए । ‘प्रत्येक दलमा एकीकरण र ध्रुवीकरणको क्रम सुरु भएको छ । यस्तो परिप्रेक्ष्यमा नीति, कार्यक्रम, सिद्धान्त मिल्नेसँग एकता गरेर जानुपर्छ,’ उनले भने ।
जसपाले संघीय परिषद् अध्यक्ष श्रेष्ठको संयोजकत्वमा सहअध्यक्ष रेणु यादव, उपाध्यक्षद्वय रनध्वज कन्दङ्वा र परशुराम बस्नेत तथा महासचिव मोहमद इस्तियाक राईलगायतका सदस्य रहेको कार्यदल गठन गरेको छ । एकता सम्भव नभए मोर्चा र तालमेल पनि गर्न सकिने उनले बताए । विगतमा समाजवादी मोर्चामा सँगै काम गरेको हुनाले नेकपासँग विचार, सिद्धान्तमा धेरै भिन्नता नरहेको उनको भनाइ छ ।
