प्रहरीमा कार्यगत स्वायत्तता र मेरिटमा आधारित वृत्ति विकास प्रणाली आवश्यक : आइजिपी कार्की
काठमाडौँ
कात्तिक २८ गते,
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीमा कार्यगत स्वायत्तता र मेरिटमा आधारित वृत्ति विकास प्रणालीको आवश्यकता औँल्याएका छन् । संगठनलाई बलियो बनाउन नीतिगत सुधार चाहिने उनको भनाइ छ ।
बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा उनले भने, ‘पछिल्लो समय व्यावसायिकता तथा प्रहरीको प्रभावकारिताको सन्दर्भमा उठेका प्रश्न र चासोहरूलाई प्रहरी परिचालनमा नीतिगत स्पष्टता, कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र अनुमानयोग्य तथा मेरिटमा आधारित वृत्ति विकास प्रणालीको माध्यमबाट धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ ।’
कार्कीले प्रहरीको मनोबल बढाएर जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जेन–जी आन्दोलनपछिको असाधारण अवस्थामा असाधारण अपेक्षा रहेको प्रति आफू सजक रहेको उनले बताए । ‘देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा विभिन्न आयामका सुरक्षा चुनौतीको विश्लेषण संरचना र मनोबलका सन्दर्भमा प्राप्त जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्यप्रति पूर्ण रूपमा जानकार र सजग छु,’ उनले भने, ‘अन्य समुदायसँग प्रभावकारी समन्वय गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवं प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आमजनसमुदायको जनअपेक्षाअनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
आइजिपी कार्कीले इमानदारितालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘प्रहरी महानिरीक्षकको पद गौरवको पद मात्र नभई चुनौतीपूर्ण र गम्भीर जिम्मेवारी वहन गर्नुपर्ने पद हो भन्ने कुराको हेक्का राख्दै त्यसैअनुसारको मानसिकता राख्दै तयार रहेको कुरा जानकारी गराउन चाहन्छु ।’
