जाँचबुझ आयोगले सोध्यो आइजिपीसँग स्पष्टीकरण
काठमाडौँ
कार्तिक २० गते,
जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी गठन भएको जाँचबुझ समितिले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ। आन्दोलनमा खटिएका प्रहरीको विस्तृत विवरण दिन नमानेपछि बुधबार आयोगले स्पष्टीकरण सोधेको हो।
२३ र २४ भदौको आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको विस्तृत विवरण माग्दै आयोगले पत्राचार गरेकोमा महानिरीक्षक खापुङले जवानदेखि महानिरीक्षकसम्म सबै खटिएको जवाफ पठाएका थिए। साथै, थप विवरण पठाउन उपत्यका प्रहरी कार्यालयलाई देखाएर पन्छिएपछि स्पष्टीकरण सोधिएको आयोगका एक अधिकारीले बताए।
बयानमा बोलाउनका लागि आयोगले २३ गते बानेश्वर क्षेत्रमा खटिएका तथा २३ गते धेरै क्षति भएका क्षेत्रमा खटिएका प्रहरीको विवरण मागेको थियो। जुन विवरण प्रहरी प्रधान कार्यालयले पठाएको छैन। आयोगले फिल्डमा खटिएका प्रहरी, प्रहरीका उच्च अधिकारी हुँदै तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँग पनि बयान लिने तयारी गरिरहेको छ। खासगरी २३ गतेको आन्दोलनमा अत्यधिक बल प्रयोग गर्नेमाथि केन्द्रित भएर आयोगले जाँचबुझ गर्न लागेको छ।
