सञ्चार मन्त्रालयमा जेनजी युवासँग छलफल

काठमाडौँ 

असोज ३१ गते,

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रुपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धन र युवाको संलग्नताबारे जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरुसँग सुझाव लिएको छ। सञ्चारमन्त्री जगदीश खरेलको अग्रसरतामा मन्त्रालयले पहिलो पटक जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिसँग छलफल गरी सुझाव लिएको हो। 

सञ्चार मन्त्रालयले शुक्रबार आयोजना गरेको डिजिटल रुपान्तरण सम्बन्धी अन्तरक्रियामामा जेनजीका सूचना प्रविधि विज्ञको सूचना प्रविधिको क्षेत्रमा युवापुस्तालाई समेटेर मन्त्रालयले आगामी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए। छलफलमा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवर्द्धन र डिजिटल रुपान्तरणलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले सुशासनका लागि डिजिटल रुपान्तरणसहित डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धनमा युवापुस्ताको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउन पहल गर्ने दोहोर्‍याउनुभयो।  

सञ्चारमन्त्री खरेलले जेनजी युवाको आन्दोलनका क्रममा उठेको महत्त्वपूर्ण विषय सुशासन र आवश्यक प्रविधि सम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा सम्वद्ध युवाबाट आएको सुुझाव महत्त्वपूर्ण हुने बताउनुभयो।  उहाँले भन्नुभयो,“सञ्चार मन्त्रालयले बनाउने हरेक नीति र योजनामा जेनजी पुस्ताको सुझावलाई समेटेर राम्रो ‘रोडम्याप’ बनाउनेछौँ, मन्त्रालयले यस्ता छलफललाई आगामी दिनमा पनि निरन्तरता दिनेछ।”