ललितपुर महानगरले सञ्चालनमा ल्यायो कार्यालयबाटै खोलाको पानीको बहाव र अवस्था पत्ता लगाउने ‘अर्ली वार्निङ प्रणाली’

काठमाडौँ 

असोज ३० गते,

ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रका सबै खोलाहरूमा पानीको बहाव र अवस्थाबारे पूर्वसूचना दिने प्रविधि जडान गरेको छ। महानगरपालिकाले भदौमा जडान गरेको उक्त प्रणाली केही दिनयता सञ्चालनमा आएको हो।

 महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस किसिमको प्रणालीले खोलानालाहरूमा पानीको बहाव बढ्दा वा खतराको तह पार गर्दा पूर्वसंकेत गर्ने बताए। ठाउँ-ठाउँमा राखिएका घण्टीहरू बज्नेछन्।

स्थानीय र नगर प्रहरीलाई पूर्वतयारीमा लाग्न त्यसले पूर्वसूचना दिनेछ। ‘खोलामा पानीको बहाव बढ्दै छ भने अर्ली वार्निङ सिस्टमले घण्टी बजाउँछ, त्यसपछि पूर्वतयारीमा लाग्न सकिन्छ,’ उनले भने, ‘बाढीपहिरो तथा डुबानबाट स्थानीयवासीलाई बचाउन र क्षति कम गर्न यस्तो प्रणाली जडान गरेका हौँ, दुई किलोमिटर पर पानी परेको छ वा बाढी आएको छ भने यो सिस्टमले थाहा पाउँछ।’ उनका अनुसार पुल्चोकस्थित नगर प्रहरीको कार्यालयमा यसको कन्ट्रोल सिस्टम छ भने खोला-खोलामा सेन्सर र घन्टी बज्ने सिस्टम जडान गरिएको छ। 

अब खोलाको पानी र बहाव हेर्न नगर प्रहरी खोलामै पुग्नुनपर्ने महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले जानकारी दिए। उनका अनुसार अबका वर्षहरूमा बाढी आउँदा तथा नदीक्षेत्रको बहाव बढ्दा पूर्वतयारी गर्न यस्तो प्रविधिले मद्दत गर्नेछ। ‘हामीले जडान गरेको प्रविधि नयाँ हो, जसले खोलामा पानीको बहाव कस्तो छ भनेर पहिले नै सूचना दिन्छ, यदि कतै बाढी आउँदै छ, त्यहाँको बस्ती जोखिममा पर्दै छ भने पहिले नै थाहा हुन्छ, विपतमा यस्तो प्रणालीले काम गर्न सहज हुने रहेछ,’ उनले भने। 

यो सिस्टमले बागमती नदी, कर्मनासा, विष्णुमती, नक्खुलगायत खोलामा आएको बाढी र बाढीको बहाव बढेमा संकेत तथा अलर्ट गराउनेछ। ललितपुरमा पनि डुबान हुने जोमिम रहेकोले महानगरले यस्तो प्रणाली जडान गरेको हो।

यसपटकको वर्षायाम सकिए पनि यो सिस्टमले आगामी वर्ष बाढी आउने तथा पानीको बहाव बढ्ने अवस्था भए पहिले नै अलर्ट गराउनेछ। साथै, यो सिस्टमले जहाँ-जहाँ सिस्टम जडान गरिएको छ, त्यहाँको तापक्रम र मौसमी अवस्थाको बारेमा पनि थाहा दिन्छ। हाल ललितपुर महानगरपालिकाले विपतजन्य सबै किसिमका औजार उपकरण पर्याप्त रूपमा खरिद गरिसकेको छ।