मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रीले दिइन राजीनामा
जनकपुर
असोज २७ गते ,
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्मा तिवारीले राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिनुभन्दा एक दिनअघि उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शिक्षा मन्त्री बनेकी तिवारीले सोमबार राजीनामा दिएकी हुन् । यस्तै, लोसपाले मधेस सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। लोसपाले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनलाई अब कुनै दलको समर्थन छैन ।
मुख्यमन्त्री सिंह स्वयम् एकल छन्। उनी प्रतिनिधित्व गर्ने दल जनमत पार्टी सहित नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिएको थियो। मुख्यमन्त्री सिंहले भोलि दिउँसो १ बजे नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
उनले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम वक्तव्य सहित प्रस्ताव पेश गर्ने कार्यसूची रहेको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ ।
