रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे गगन थापा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।
केहीबेरमा सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन उनी भरतपुर आइपुगेका हुन् । रास्वपाले पठाएको निमन्त्रणा स्वीकार गर्दै थापा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन् ।
रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।
देशभरबाट आएका हजारौं प्रतिनिधि र कार्यकर्ताको उपस्थितिमा भरतपुरमा महाधिवेशनको माहोल उत्साहपूर्ण बनेको छ । उद्घाटन समारोहमा थापाले शुभकामना मन्तव्य दिने कार्यक्रमसमेत रहेको बताइएको छ ।
