रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
“रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ”, प्रवक्ता झाले भने, “राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ ।”
भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
