पाठ्यक्रमलाई समयसापेक्ष बनाउने शिक्षा मन्त्री पोखरेलको प्रतिबद्धता
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताए । उनले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
“विश्वविद्यालयबाट हासिल हुने शिक्षा केवल प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन, यसले रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणमा योगदान दिनुपर्छ”, उनले भने ।
मन्त्री पोखरेलले कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने धारणा राखे। प्रदेशमा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिने उनको भनाइ छ ।
