मन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा आपत्ति, सभामुखद्वारा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति नदेखिएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका छन्।

बजेटमाथि नौ वटा मन्त्रालयसँग सम्बन्धित छलफल चलिरहेका बेला सीमित संख्यामा मात्र मन्त्री उपस्थित भएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। उनीहरूले मन्त्रालयगत छलफल प्रभावकारी बनाउन सम्बन्धित मन्त्रीहरूको अनिवार्य उपस्थितिको माग गरे। सांसदहरूको असन्तुष्टिपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरी आवश्यक समन्वय गर्न समय दिएका हुन्।

यसअघि पनि बजेट छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति नहुँदा संसद् बैठक प्रभावित भएको थियो। एमाले सांसद राजेन्द्र राईले रोष्ट्रममा उभिएर विरोध जनाएपछि सभामुखले बैठक रोक्दै मन्त्रीहरूलाई उपस्थित हुन निर्देशन दिएका थिए।