चिया निर्यात अवरोध समाधानमा सरकार उदासीन रहेको काँग्रेस सचेतक राईको आरोप
काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएका समस्याप्रति सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक पहल कमजोर हुँदा किसान र व्यवसायी प्रभावित भएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले विशेषगरी इलामलगायत पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने चियाको गुणस्तर उच्च भए पनि भारततर्फ निर्यातका क्रममा विभिन्न अवरोधहरू सिर्जना भइरहेको बताए।
उनका अनुसार भारतीय बजार प्रवेशपछि नेपाली चियालाई पुनः परीक्षण गर्ने प्रक्रिया अपनाइँदा निर्यातकर्ताहरूले लामो समयसम्म सामान रोक्नुपर्ने बाध्यता छ, जसले आर्थिक रूपमा ठूलो क्षति पुर्याइरहेको छ।
राईले निरन्तर हुने परीक्षण र त्यसबाट आउने परिणामका कारण नेपाली चियाको बजार विस्तारमा नकारात्मक असर परेको उल्लेख गर्दै समस्या समाधानका लागि नेपाल–भारतबीच उच्चस्तरीय कूटनीतिक संवाद आवश्यक रहेको बताए। उनले चिया परीक्षणका लागि नेपालमै भरपर्दो प्रयोगशाला तथा संरचना विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्वदेशमै गुणस्तर परीक्षण प्रणाली बलियो बनाउनुपर्ने सुझाव दिए।
