धनगढीमा रास्वपा नेता सिंहमाथि आक्रमण, दोषीलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।  नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभामा यस घटनाबारे जानकारी गराउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका हुन्।

संसदमा बोल्दै महरले सुदूरपश्चिम प्रदेश अधिवेशन सकेर फर्किने क्रममा असार १ गते राति धनगढीमा सिंहमाथि करिब ७ देखि ८ जनाको समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको बताए। उनले घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे।

उनका अनुसार आक्रमणका क्रममा सिंहसँग रहेका ल्यापटप, मोबाइल फोन, घडी, सिक्रीलगायतका सामानसमेत लुटिएको थियो। बझाङबाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका उम्मेदवार बनेका सिंह हाल पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहेका बताइएको छ।