गोदावरी वन क्षेत्रमा टेम्पु खसाएको बारे वन कार्यालयको स्पष्टीकरण- ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’
काठमाडौँ । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ ।
कार्यालयले आज पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ । कार्यालयका अनुसार भिरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो ।
कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरले गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ भइरहेको अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिए । उनका अनुसार सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी रूपमा कब्जा गरी खोका–छाप्रा निर्माण गर्ने र किनबेचसमेत हुने गतिविधि लामो समयदेखि चल्दै आएको छ ।

