अद्यावधिक छुटेका काँग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने
काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समय सीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरूले आगामी असार २० गतेभित्रमा निवेदन दिन सक्ने जनाएको छ ।
काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आजको बैठकले छुटेका निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरूले असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो ।
पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये यही जेठ २८ गते राति १२:०० बजेसम्म कुल छ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण ‘डिजिटल’ प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ ।
