धम्की प्रकरणमा गृहमन्त्रीको प्रतिक्रिया : प्रक्रिया अघि बढाउन आग्रह, कारबाहीको आश्वासन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसदमा आफूले सनातन राज्यको पक्षमा धारणा राखेपछि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा हिंसासम्बन्धी धम्की प्राप्त भएको विषय सार्वजनिक गरेकी छन्। उक्त विषय उठाइएपछि गृहमन्त्री सुधन गुरुङले त्यसप्रति चासो देखाउँदै उनलाई प्रत्यक्ष भेटेर छलफल गरेका छन्।
संसदभित्रै भएको भेटमा गृहमन्त्री गुरुङले घटनाको आवश्यक छानबिन र कानुनी कारबाही अघि बढाइने आश्वासन दिएका छन्। उनले पीडित पक्षलाई औपचारिक प्रक्रिया अपनाउन आग्रह गर्दै राज्य संयन्त्रबाट आवश्यक अनुसन्धान अघि बढाइने स्पष्ट पारेका हुन्।
गृहमन्त्री गुरुङले हालै मात्र पदभार सम्हालेलगत्तै व्यक्तिको चरित्र हत्या र लक्षित धम्कीका घटनाप्रति शून्य सहनशीलता अपनाइने बताएका थिए। विशेष गरी महिला लक्षित अपमानजनक गतिविधिलाई गम्भीरतापूर्वक लिने नीति गृह मन्त्रालयको प्राथमिकतामा रहने उनको भनाइ थियो।
ओलीले संसदमा दिएको अभिव्यक्तिमा नेपालमा बहुसंख्यक सनातनी समुदाय रहेको उल्लेख गर्दै देशलाई सनातनी राज्यका रूपमा परिभाषित गर्नुपर्ने धारणा राखेकी थिइन्। सोही अभिव्यक्तिपछि आफूलाई विभिन्न प्रकारका धम्की आएको उनको दाबी छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइने र दोषी पहिचान भए कानुनी दायरामा ल्याइने गृह मन्त्रालयले संकेत गरेको छ।
