आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । 

वटसावित्री पनि भनिने यो पर्वमा विवाहित  महिला आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रूपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ । 

सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत संकल्प गरेपछि औँसीका दिन  निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्षको फेदमा बर्तालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् ।