उपत्यकामा ९ महिनामा साढे चार हजार बढी दुर्घटना, १७४ जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको पछिल्ला नौ महिनामा सवारी दुर्घटनाको संख्या उल्लेख्य देखिएको छ। ट्राफिक प्रहरीको तथ्यांक अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ३१ दुर्घटना दर्ता भएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका ती दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका छन्। दुर्घटनाबाट १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९ सय २७ जना सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्षभन्दा कम उमेरका रहेका छन्। त्यसैगरी १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जना तथा ३६ वर्षभन्दा माथिका ८१ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ।
उपत्यकामा सवारी दुर्घटनाको यस्तो परिमाणले सडक सुरक्षा, चालक अनुशासन र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने आवश्यकता अझ स्पष्ट पारेको सम्बन्धित निकायको मूल्यांकन छ।
