सजिलो क्रान्तिबाट आएर पनि परिणाम दिन सकेनौं भने हामी नालायक सावित हुन्छाैं: रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनादेखि हालसम्मको राजनीतिक यात्रा इतिहासकै सहज संघर्ष रहेको बताउँदै अबको पाँच वर्ष जनताका पक्षमा परिणाममुखी काम गर्नुपर्ने बताएका छन्। आइतबार पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले सो धारणा राखेका हुन्।
उनले पार्टीको आगामी कार्यदिशा र जनअपेक्षालाई पूरा गर्न सांसदहरूलाई निर्देशन समेत दिए। सम्बोधनका क्रममा लामिछानेले रास्वपाको उदय र हालसम्मको सफलतालाई सहज रूपमा व्याख्या गरे । उनले भने, ‘हामीलाई थाहा थियो, हाम्रो बहुमत आउँछ भनेर। यति सहज संघर्ष आजसम्मको इतिहासमा कतै भएको छैन।’ उनले थपे, ‘यति सजिलो क्रान्तिबाट आएर पनि यदि हामीले परिणाम दिन सकेनौं भने हामी नालायक सावित हुनेछौं।’
सभापति लामिछानेले नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा पुर्याएको योगदानको बदलामा तत्काल पद वा पुरस्कार नखोज्न आग्रह गरे। ‘पार्टीमा योगदानको मूल्य नमाग्नुहोला, यो माग्ने बेला मेरो पनि भएको छैन,’ उनले सुनाए, ‘वास्तविक योगदान त अब दिने हो। अबको हाम्रो मुख्य लक्ष्य भनेको अवस्था बदल्ने क्रान्ति गर्ने हो।’
मन्त्री पद नपाएको भन्दै असन्तुष्ट रहेका नेताहरूप्रति लक्षित गर्दै लामिछानेले सांसदको भूमिका मन्त्रीको भन्दा कम नहुने बताए। उनले मन्त्री नहुँदा दुःख मान्नुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै भने, ‘म मन्त्री भइनँ भनेर दुःख मान्ने साथीहरूले बुझ्नुपर्छ, सांसदको रूपमा हामीले दिन सक्ने योगदान मन्त्रीको भन्दा धेरै छ।’
प्रशिक्षणका क्रममा उनले रास्वपाका सांसदहरूलाई संसद्मा जनताका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन र कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुन प्रेरित गरे।
