काठमाडौँका तीन खाद्य व्यवसायमा आकस्मिक अनुगमन, सरसफाइ तथा मापदण्ड सुधारका निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौँले विभिन्न मितिमा प्राप्त उजुरी तथा गुनासोको आधारमा आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन गर्दै काठमाडौँ उपत्यकाका तीन खाद्य व्यवसायहरूको स्थलगत निरीक्षण गरेको छ।
विभागमा प्राप्त गुनासाहरूको सम्बोधनका लागि गरिएको अनुगमनका क्रममा आकाश खाद्यान्न स्टोर, चन्द्रागिरी–११, अन्नपूर्ण मिनरल वाटर इन्डस्ट्रिज, चन्द्रागिरी–८ तथा दाजुभाइ स्वीट्स, कलंकी–१४ मा खाद्य सुरक्षा, सरसफाइ, उत्पादन प्रक्रिया र मापदण्ड पालना अवस्थाबारे अनुगमन तथा निरीक्षण गरिएको हो ।
आकाश खाद्यान्न स्टोर सम्बन्धी उजुरीमा म्याद गुज्रेका खाद्य पदार्थ स्टक राखी बिक्री वितरण गरिएको भन्ने उजुरीमा स्थलगत निरीक्षणका क्रममा त्यस्तो अवस्था फेला नपरेको विभागले जनाएको छ। यद्यपि स्टोरलाई एक्सपायर जोनको उचित व्यवस्थापन गर्न, म्याद समाप्त भएका खाद्य पदार्थको बिक्री वितरण नगर्न तथा नियमित रूपमा खाद्य लेबल विवरण जाँच गर्न निर्देशन दिइएको छ।
अन्नपूर्ण मिनरल वाटर इन्डस्ट्रिजको अनुगमनका क्रममा प्रशोधन कक्षमा पाइप लिकेज तथा टायलहरू टुटफुट अवस्थामा रहेको पाइएको छ। पुन: प्रयोग हुने जारहरूको सरसफाइमा क्लोरिनयुक्त पानी प्रयोग गरिएको भए पनि फोहोर वा लेउ जमेको अवस्था भने भेटिएको छैन। विभागले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार कार्य गर्न निर्देशन दिएको छ भने प्रशोधित पानीको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ।
दाजुभाइ स्वीट्समा गरिएको निरीक्षणमा सरसफाइ सामान्य अवस्थामा रहेको, पेस्ट कन्ट्रोल व्यवस्थापन प्रभावकारी नभएको तथा कृत्रिम रंगको प्रयोग व्यवस्थित नभएको पाइएको छ। तर ‘हाइड्रो’ नामक वा अन्य अखाद्य रसायन प्रयोग गरिएको भन्ने उजुरी भने पुष्टि नभएको विभागले जनाएको छ। उक्त व्यवसायलाई कृत्रिम रंगको जथाभाबी प्रयोग नगर्न, नियमनका लागि स्ट्यान्डर्ड अपरेटिङ प्रोसेस तयार गरी लागू गर्न तथा पेस्ट कन्ट्रोल व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ।
विभागले सबै व्यवसायहरूलाई खाद्य सुरक्षा तथा गुणस्तर सुनिश्चित गर्न असल उत्पादन अभ्यास पालना गर्न, सरसफाइ सुधार गर्न र सम्भावित प्रदूषण नियन्त्रणका लागि आवश्यक प्रणाली सुदृढ गर्न आग्रह गरेको छ। आवश्यक परे थप प्रयोगशाला परीक्षण तथा अनुगमन जारी रहने जनाइएको छ।
