भ्रामक तथा अपुष्ट सामग्री प्रकाशन-प्रसारण नगर्न प्रेस काउन्सिलको चेतावनी
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ।
काउन्सिलले आज जारी गरेको ध्यानाकर्षण सूचनामार्फत प्रेस स्वतन्त्रताको संरक्षण गर्दै जिम्मेवार, विश्वसनीय तथा आचारसंहिताअनुरूप पत्रकारिता अभ्यास गर्नुपर्नेमा जोड दिएको हो।
सूचनामा हालका दिनमा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत अपुष्ट तथा भ्रमपूर्ण सामग्री बढ्दो रूपमा फैलिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। यस्ता गतिविधिले पत्रकारिताको विश्वसनीयतामा असर पार्नुका साथै व्यक्ति तथा संस्थाको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।
काउन्सिलका अनुसार विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीबारे उजुरी तथा जनगुनासो बढिरहेको छ। प्राप्त उजुरीमाथि आचारसंहिता अनुसार अनुगमन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै पनि सामग्री प्रकाशन वा प्रसारणअघि त्यसको यथार्थता परीक्षण गर्न काउन्सिलले आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानहानी गर्ने प्रवृत्ति अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुने स्पष्ट पारिएको छ।
डिजिटल माध्यमहरू-विशेष गरी युट्युब र टिकटक मार्फत अपुष्ट तथा अतिरञ्जित सामग्री फैलाउने प्रवृत्तिप्रति पनि काउन्सिलले सचेत गराएको छ। यस्ता कार्य पत्रकार आचारसंहिता विपरीत हुने भएकाले आवश्यक परे कारबाही गरिने चेतावनी दिइएको छ।
काउन्सिलले गलत सामग्रीबाट प्रभावित व्यक्ति वा संस्थाले उजुरी दिन सक्ने व्यवस्था रहेको जानकारी दिँदै सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र मर्यादित पत्रकारिता अभ्यास गर्न आग्रह गरेको छ।
