पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त सम्पन्न, ६ हजार ७०६ विद्यार्थी दीक्षित

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका गरी कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन् । यसलाई विश्वविद्यालयको हालसम्मकै उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा स्नातक तहबाट ५ हजार २८८, स्नातकोत्तर तहबाट १ हजार ४१३ र एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

संकायगत रूपमा व्यवस्थापन संकाय अग्रस्थानमा रहँदै २ हजार २६४ विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, इन्जिनियरिङ संकयबाट १ हजार २६२, शिक्षा संकयबाट ९९८, विज्ञान तथा प्रविधि संकायबाट ७४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञान सकायबाट ६२४, कानुन संकायबाट ६२२ र मानविकी तथा सामाजिक विज्ञान संकायबाट १८५ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई पदक, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो ।