डेरावासीको विवरण अभिलेखीकरण गर्न घरधनीलाई प्रहरीको आग्रह
काठमाडौँ । भाडामा बस्ने व्यक्तिहरूको पहिचान तथा सुरक्षा व्यवस्थापन सहज बनाउन घरधनीहरूलाई आवश्यक विवरण संकलन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ।
प्रहरीका अनुसार अपराध नियन्त्रण र कुनै घटना भएमा संलग्न व्यक्तिको पहिचान छिटो र स्पष्ट रूपमा गर्न सकिने उद्देश्यले यस्तो आग्रह गरिएको हो। डेरामा बस्ने व्यक्तिहरूको पृष्ठभूमिबारे प्रारम्भिक जानकारी राखिएमा अनुसन्धान तथा सुरक्षा कार्यमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।
त्यसैगरी, आवश्यक ठानिएमा घरधनीले बसोबास गर्न आउने व्यक्तिसँग प्रहरी निकायबाट जारी हुने क्लियरेन्ससम्बन्धी विवरण माग गर्न सक्ने व्यवस्था व्यावहारिक रूपमा उपयोगी हुने उल्लेख गरिएको छ। यसले बसोबास गर्ने व्यक्तिको सामान्य पृष्ठभूमिबारे स्पष्टता प्रदान गर्ने प्रहरीको धारणा छ।
प्रहरीले यस प्रकारको अभिलेखीकरणले कुनै घटनामा संलग्न नभएका व्यक्तिहरू अनावश्यक सोधपुछ वा असुविधामा पर्न नपर्ने वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ।
