दर्शकविना पाकिस्तान सुपर लिग आयोजना हुँदै
काठमाडौँ
चैत्र ९ गते,
पाकिस्तान सुपर लिग (पिसिएल) २०२६ दर्शकविनाको हुने भएको छ । आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले पश्चिम एसियाको अवस्था र इन्धन संकटका कारण पिसिएल दर्शकविनाको हुने जनाएको छ ।
लिग आगामी २६ मार्चदेखि ३ मेसम्म आयोजना हुँदै छ । पाकिस्तानले सुरुमा ६ विभिन्न सहरमा लिग हुने घोषणा गरेको थियो । अहिले इन्धन संकटका कारण केवल दुई सहरमा मात्र लिग आयोजना हुने बोर्डका अध्यक्ष मोहसिन नक्वीले जानकारी दिएका छन् । उनका अनुसार लाहोर र कराँचीमा मात्र पिसिएल हुनेछ ।
‘अमेरिका–इजरायल र इरानबिच युद्धको प्रभाव विश्वमै परेको छ । मुख्य गरी हामीले इन्धन समस्या भोगिरहेका छौँ, यसकारण पिएसएल अब दुई सहर र दर्शकविनाको हुने निर्णय गरेका छौँ,’ नक्वीले भने, ‘पश्चिम एसियाको अवस्था सुधारिएमा अन्तिम चरणमा दर्शकलाई अनुमति दिन सकिनेछ ।’
संकटका कारण इन्धन अभाव बढेपछि नक्वीले टिकट किनेका दर्शकलाई पैसा फिर्ता गर्ने जनाएको छ । यसैगरी लिगमा सहभागी फ्रेन्चाइज टोलीलाई पर्ने आर्थिक नोक्सानी क्षतिपूर्ति दिने जनाएको छ । ‘संकटका कारण तेल आपूर्तिमा समस्या भएको छ, विशेष गरी होर्मुज जलडमरुमध्यमा अवरोध भएपछि पाकिस्तानमा इन्धन अभाव बढाएको छ,’ नक्वीले भने ।
