महोत्तरीमा पौष ४ देखि बन्ध्याकरण शिविर संचालन हुदै

महोत्तरी

पुष १ गते,

सन्तानको रहर पुरा भएकाहरुको लागि महोत्तरीमा पौष ४ गते देखि स्थायी तथा अस्थाई बन्ध्याकरण गर्न एकिकृत परिवार योजना शिविर संचालन हुन लागेको छ । शिविर पुर्व राखिएको अन्तरकृया कार्यक्रममा शिविर संचालनको तयारी पुरा भएको जानकारी गराइएको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यता र स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साहको अध्यक्षतामा भएको सो अन्तरकृया कार्यक्रममा शिविर संचालन सम्ब्न्धी विविध विषय वस्तुमा चर्चा गरिएको थियो ।

गत वर्ष ७०० को टारगेटमा ५३४ को बन्ध्याकरण गरिएकोमा यस वर्ष ८७४ टारगेट रहेको र टारगेट पुरा गर्न स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय प्रमुख साहले बताए । उनले १५ स्थानीय तह रहेको महोत्तरीमा १० स्थानमा शिविर लगाई सेवा उपलब्ध गराइने बताए । शिविर श्री सुनौलो परिवार नेपालको प्राविधिक सहयोग,स्थानीय तहहरुको समन्वय तथा स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनमा संचालन हुनेछ ।

पौष ४ र गते महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला अस्पतालबाट सुरु हुने शिविर पौष ५ गते समेत सोहि अस्पतालमा सेवा उपलब्ध गराउने छ भने पौष ७ र ८ गते बर्दिवास नगरपालिकाका सेवाग्राहीको लागि बर्दिवास अस्पतालमा शिविर संचालन हुनेछ । यता पौष १० र ११ गते औरही अस्पतालमा शिविर आयोजन हुनेछ । त्यसतै पौष १३ र १४ गते मनरा सिस्वा नगरपालिका तथा एकडारा गाउपालिकाका सेवाग्राहीको लागि एकडारा स्वास्थ्य चौकीमा शिविर आयोजन हुनेछ ।

त्यसतै बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकाका सेवाग्राहीलाई बन्ध्याकरणको सेवा उपलब्ध गराउन पौष १६ र १७ गते बल्वा– धमौरा स्वाथ्य चौकी,रौजा) मा शिविर लगाइने पब्लिक हेल्थ नर्स तथा स्रोत व्यक्ति सृजना यादवले बताइन्। उनले पौष १९ र २० गते रामगोपालपुरमा शिविर संचालन हुने थपिन् ।

यता सम्सी गाउँपालिकामा पौष २२ गते,सोनमा गाउपालिकामा पौष २४ र २५ गते तथा पिपरा गाउपालिकामा पौष २७ र २८ गते शिविर संचालन हुनेछ । त्यस्तै मटिहानीमा पौष ३० गते र भंगहा नगरपालिकामा माघ २ र ३ गते शिविर आयोजन हुनेछ ।

शिविरमा मिनिल्याप,भ्यासेक्टोमी साथै आई.यु.सि.डी. इम्प्लान्टको सेवा समेत निशुल्क उपलब्ध गराइने स्रोत व्यक्ति यादवले बताइन् ।जनसंख्या सन्तुलन राख्न बन्ध्याकरण भरपर्दो माध्यम भएको र यो सुरक्षितसमेत भएकाले पछिल्लो समय बन्ध्याकरण गराउनेहरुको संख्या बढ्दो छ ।