सप्तरीमा १३ जना फरार प्रतिवादी पक्राउ (प्रेस बिज्ञप्ति )

राजविराज 

मंसिर २९ गते,

सप्तरीमा विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । कुटपिट, लुटपाट, वन पैदावर चोरी निकासी मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सप्तरी जिल्ला अदालतबाट फैसला भएको अवैध साल काठ चिरान चोरी निकासी मुद्दामा रुपनी गाउँपालिका ६ का राजन तमाङ कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरी अनुसार कुटपीट, लुपपीट मुद्दाका महादेवा गाउँपालिका वडा नम्बर १ का सुरेन भन्ने सुरेन्द्र यादव, बिरेन भन्ने बिरेन्द्र यादव, लुटपीट मुद्दामा साविक लोहजरा गाविस वडा नम्बर –९ का किरण राज मिश्र, शेखर राज मिश्र, निलम राज मिश्र, शान्ति देवी मिश्र, प्रकाश राज मिश्र पक्राउ परेको प्रहरीले बताएका छन् ।

यसैगरी झुठो नेपाली नागरिकता प्रमाण पत्रसम्बन्धी मुद्दामा राजविराज नगरपालिका वडा नम्बर १६ का रिषिनारायण देवसहित १३ जना प्रतिवादीलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।

फैसला कार्यान्वयनको सिलसिलामा सप्तरी जिल्ला अदालत राजविराजबाट जरिवना भइ फरार सुचीमा रहेका उनीहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरीले बताए ।  उनले पक्राउ परेका प्रतिवादीहरुबाट ९ लाख ९ हजार २ सय ९५ रुपियाँ जरिवाना तोकिएको जानकारी दिए ।

सप्तरी प्रहरीले फरार प्रतिवादी नियन्त्रण अभियानलाई तीब्र बनाएपछि फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् ।