भिजिट भिसाको सेटिङ रोकिएपछि एयरलाइन्सको दादागिरी : एकै दिन सयभन्दा धेरैलाई बोर्डिङ पास नदिई विमानस्थलबाट फर्काइयो
काठमाडौँ
कार्तिक २९ गते,
सरकारले भिजिट भिसासम्बन्धी कार्यविधि सरल बनाएपछि एयरलाइन्स कम्पनीहरूले विदेश जाने यात्रुलाई दु:ख दिन थालेका छन् । अनेक बहाना गरेर उनीहरूले एकै दिन सयभन्दा धेरै यात्रुको बोर्डिङ पास रोकेका छन् ।
केही दिनयता एयरलाइन्सले ठुलो संख्यामा यात्रु फर्काइरहेका छन् । बिहीबार एकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयभन्दा धेरै यात्रुलाई बोर्डिङ पास नै नदिई फर्काइएको छ । यससम्बन्धी गुनासो आएपछि अध्यागमन विभागले शुक्रबार एयरलाइन्स कम्पनीका प्रतिनिधिलाई बोलाएर यात्रुहरूलाई दु:ख नदिन निर्देशन दिएको छ । एयरलाइन्स कम्पनीले बोर्डिङ पास नदिएको गुनासो आएपछि उनीहरूलाई बोलाएर निर्देशन दिइएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘ठुलो संख्यामा यात्रुहरूलाई बोर्डिङ पास नदिएको गुनासो आएपछि बोलाएर दु:ख नदिन निर्देशन दिएका छौँ,’ उनले भने, ‘कसैलाई बोर्डिङ पास नदिने हो भने प्रस्ट कारणसहित लिखित पत्र दिन भनिएको छ ।’ विभागले खाडी देश र मलेसियामा उडान गर्ने आठवटा एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएको हो ।
गृह मन्त्रालयले गत १४ कात्तिकमा भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि संशोधन गर्दै सरल बनाएको थियो । भिजिट भिसाका विकृति हटाउन भन्दै पासपोर्ट, भिसा र टिकटबाहेक अन्य कागजात नहेर्ने निर्णय गरेको थियो । त्यसयता अध्यागमनले भिजिट भिसामा विदेश जानेलाई शंकाको भरमा रोकेको छैन । त्यसले भिजिट भिसाको धन्दा रोकिएपछि एयरलाइन्स कम्पनीदेखि ट्राभल एजेन्सीसम्म रुष्ट भएका छन् । ‘उनीहरूको अतिरिक्त आम्दानी रोकिएपछि अहिले अनेक बहाना गरेर यात्रुलाई दु:ख दिन थालेका छन्,’ अध्यागमन विभागका एक अधिकारी भन्छन्, ‘यसमा अध्यागमनका हाम्रै केही कर्मचारी पनि मिलेका हुन सक्छन् ।’
भिजिट भिसाको सेटिङ एयरलाइन्स र अध्यागमनमा हुने गरेको थियो । अध्यागमनको सेटिङ बन्द भएपछि एयरलाइन्स कम्पनीहरूले यात्रुलाई दु:ख दिएर फेरि सेटिङ चलाउने प्रयास गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै एयरलाइन्सको ग्राउन्ड हेन्डलिङ नेपाल एयरलाइन्सले हेर्दै आएको छ । जसकारण भिजिट भिसाको सेटिङमा मुख्यगरी नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतो रहेको स्रोत बताउँछ । उनीहरूले पछिल्लो समय बोर्डिङ पास रोकेर नियतवश दु:ख दिन थालेका छन् ।
यसअघि भिजिट भिसाको सेटिङ चलेको समयमा दुइतर्फी टिकट अनिवार्य थियो । भिजिट भिसामा रोजगारी खोज्न बाहिर जानेहरूको हकमा दुईतर्फी टिकटकै पैसा असुल्ने र उनीहरू विमानस्थलमा पुगेलगत्तै त्यो रद्द गरेर एयरलाइन्स र ट्राभल एजेन्सीले ठगी गर्दै आएका थिए । सेटिङ रोकिएपछि यो धन्दा पनि रोकिएको छ । जसकारण उनीहरू सेटिङ चलाउन बोर्डिङ पास नै रोक्न थालेको अध्यागमनका अधिकारीको आशंका छ ।
भिजिट भिसाको सेटिङ चलेको समयमा अध्यागमनमा सरुवा हुन सामान्य पहुँच भएका कर्मचारीका लागि सम्भव थिएन । अध्यागमन जान साम, दाम सबै प्रयोग हुन्थ्यो । तर, अहिले भिजिट भिसाको सेटिङ रोकिएपछि अध्यागमनबाट कर्मचारीले सरुवा माग्न थालेका छन् । कतिपय सरुवा मिलाएर निस्किसकेका छन् । सरुवा माग्न अध्यागमनका कर्मचारीहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका छन् ।
‘अध्यागमनमा अहिले धेरैले सरुवा मागिरहेका छन्, टिकाउन गाह्रो भइरहेको छ,’ विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरे भन्छन्, ‘नयाँ कर्मचारी नआईकन यहाँका कर्मचारीलाई जान दिएका छैनौँ ।’ पासपोर्ट, टिकट र भिसा भएको अवस्थामा नरोक्न अध्यागमनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । विगतमा सेटिङ चलाएर बसेका कर्मचारीहरूले अहिले अतिरिक्त आम्दानी रोकिएपछि सरुवा माग्न थालेका हुन् ।
भिजिट भिसाको सेटिङ चलेको समयमा दुईतर्फी टिकट अनिवार्य थियो । भिजिट भिसामा रोजगारी खोज्न बाहिर जानेहरूको हकमा दुईतर्फी टिकटकै पैसा असुल्ने र उनीहरू विमानस्थलमा पुगेलगत्तै त्यो रद्द गरेर एयरलाइन्स र ट्राभल एजेन्सीले ठगी गर्दै आएका थिए । सेटिङ रोकिएपछि यो धन्दा पनि रोकिएको छ । जसकारण उनीहरूले सेटिङ चलाउन बोर्डिङ पास नै रोक्न थालेको अध्यागमनका अधिकारीको आशंका छ ।
