सात दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह
जनकपुर
कार्तिक २९ गते,
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आन्दोलनरत सात दललाई वार्तामा आउन आग्रह गरेका छन्। शनिबार बिहान प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस सहित सात दलका नेताहरूलाई संवादको मार्फत वर्तमान प्रदेशमा देखिएको राजनीतिक समस्यालाई समाधान गर्न आग्रह गरेका हुन् ।
आफ्नो नियुक्तिको विषय वारे मुद्दा सर्वोच्च अदालतमा रहेकोले तत्काल आन्दोलनलाई छोडेर प्रदेशमा शान्तिको वातावरण बनाउन उनले दलहरूलाई समेत आग्रह समेत गरेका हुन् ।मधेसकेन्द्रित दलहरू प्रदेशलाई मुठभेडतर्फ लैजान खोजिरहेको आरोप लगाए।मुख्यमन्त्री यादवले आन्दोलनकारीबाट आफू र संवैधानिक पदाधिकारीहरूलाई सुरक्षा खतरा बढेको दाबी गर्दै प्रदेशसभा सांसदहरू अझ ठूलो जोखिममा रहेको बताए। उनका अनुसार मधेसकेन्द्रित दलसँग कुनै ठोस एजेन्डा नभएकाले जनतालाई भड्काएर अस्थिरता सिर्जना गर्न खोजिएको हो।
उनले जेन–जी आन्दोलनपछि वैदेशिक हस्तक्षेपका गतिविधि बढेको आरोप लगाउँदै अहिले भइरहेको आन्दोलनलाई निरर्थक भने। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र समाधान पनि न्यायालयबाटै आउने हुँदा सडक आन्दोलनको औचित्य नरहेको उनले स्पष्ट पारे।यादवले लोसपा नेतृत्वको सरकार आफ्ना सहयात्रीकै कारण ढलेको दाबी गर्दै यसको दोष आफूलाई थोपर्न खोजिएको बताए। आफू नचाहँदा पनि परिस्थितिले मुख्यमन्त्री बन्नुपरेको उनले उल्लेख गरे। मुख्यमन्त्री निवासमा आन्दोलनकारीले कब्जा जमाएको घटनाप्रति उनले कडा आपत्ति जनाए ।
